बैतडी –बैतडीका विभिन्न स्थानमा रहेका पुराना धर्मशालाहरु खण्डहर बन्दै गएका छन् । पहिला पहिला बाटोमा हिड्ने बटुवाहरुले बास बस्नका लागि प्रयोग गर्दै आएका धर्मशालाहरु लोप हुँदै गएका छन् । सडकको पहुँच नहुँदा मानिसहरु पैदल यात्रामा घरबाट टाढा जाने बेला बाटोबाटोमा बसोबासका लागि धर्मशाला बनाइएका थिए ।
सडक र सवारी साधनमा मानिसहरुको पहुँच बढ्दै गएपछि धर्मशालाहरु बस्न छोडिएको छ । बाटाका छेउछाउमा बनाइएका धर्मशालाहरु धेरै जसो जीर्ण भईसकेका स्थानीय भुवन क्षेत्रीले बताए । उनले भने ‘पहिला बनाइएका धर्मशालाहरु खण्डहर भईसकको छन् । अबका केही बर्षपछि धर्मशाला कस्ता थिए भनेर देख्न पाउने अवस्था हुनेछैन् ।’
घरबाट विभिन्न कामले बाहिर जाँदा धर्मशालामा बास बसेको याद ताजै भएपनि धर्मशाला भने जीर्ण र खण्डहर भईसकेका सुर्नया ६ का गणेशदत्त अवस्थीले बताए । उनले भने ‘मानिसहरु पहिला धेरै सामाजिक काममा सक्रिय थिए भन्ने उदाहरण पनि हुन धर्मशाला । पहिलाका मानिसहरु ठाउँठाउँमा चौतारा समेत निर्माण गर्थे ।’
मानिसहरु यताउता गएको बेला बास बस्नका लागि बनाइएका धर्मशाला जीर्ण भईसकेका छन् । बैतडीमै पनि धेरै धर्मशाला रहेका भएपनि अहिले सबै जीर्ण र खण्डहर भईसकेका छन् ।
यस्तै पानी भएको ठाउँमा निर्माण गरिएका चौताराहरु पनि मासिदै गएका छन् । मानिसहरु यताउताबाट आएको बेला बस्नका लागि रुखको छाहारीमा बनाएका चौताराहरु नष्ट भईसकेका स्थानीयहरुले बताएका छन् ।
विभिन्न ठाउँमा रहेका चौताराहरु निर्माण तथा पुननिर्माणमा कसैको ध्यान नजाँदा चौताराहरु नासिदै गएका छन् । यस्ता खालका चौतारा र धर्मशाला संरक्षणमा स्थानीय सरकारहरुले ध्यान दिनुपर्ने भएपनि कसैको ध्यान जान सकेको छैन् ।