Sagun Khabar
बैतडीको पुर्चौंडीमा ५० लाखको आइसोलेसन भवन प्रयोग विहिन 

बैतडी –कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको बेला बैतडीको पुर्चौंडीमा निर्माण गरिएको आइसोलेसन भवन प्रयोग विहिन भएको छ । निर्माण भएको दुई बर्षमै आइसोलेसन भवन जीर्ण हुन थालेको स्थानीयहरुले बताएका छन् । 

नगरपालिकाले ५० लाखको लागतमा गत आर्थिक बर्षमा ३० कोठे आइसोलेसन भवन निर्माण गरेको थियो । आइसोलेसन भवन प्रयोग नभएपछि अहिले त्यसका संरचनाहरु नष्ट हुँदै गएका छन् । भवनभित्र भएका शौचालयहरु दुर्गन्धि बनाइएका छन् भने अन्य संरचनाहरु पनि नष्ट हुन थालेका स्थानीय पूर्ण ऐरले बताए । उनले भने ‘प्रयोगमा आएको एक बर्ष नपुग्दै भवनको यस्तो हालत भएको छ । सरकारी सम्पत्तिको चरम दुरुपयोग भएको छ ।’

Atrya hospital

आइसोलेसन भवन कोरोनाका बिरामीहरुलाई लक्षित बनाएर निर्माण गरेको र अहिले कोही नबसेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । उनले भने ‘आइसोलेसन भवन भनेकै कोरोनाका बिरामीहरुका लागि बनाइएको हो । अहिले संक्रमणदर शुन्यमा झरीसकेको छ । त्यो बेला अरुले बस्ने कुरा आउँदैन् । आइसोलेसनका केही कोठाहरुमा नगरपालिकाका सामग्री राखिएको छ ।’

५० लाखको लागतमा आइसोेलेसन भवनका तीस कोठा निर्माण गरिएका नगरपालिकाका लेखापाल दलबहादुर धामीले बताए । आइसोलेसन भवन अहिले प्रयोगविहिन अवस्थामा रहेको उनले बताए । कोरोनाका बिरामीहरुका लागि भवन बनाइएकाले अहिले कोरोनाका बिरामी नहुँदा भवन प्रयोग विहिन भएको उनले बताए । 

सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व सरकारको भएपनि आइसोलेसन भवनको संरक्षणमा नगरपालिकाको ध्यान जान सकेको छैन् । लाखौंको लागतमा निर्माण भएको संरचना जीर्ण हुँदै गर्दा समेत नगरपालिकाको ध्यान नगएको भन्दै नगरपालिकाको आलोचना समेत भईरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update