बैतडी –बैतडीमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । जिल्लाका सबै स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । कोरोनाको तेश्रो भेरियन्ट ओमीक्रोन फैलिएको बेला जिल्लामा कोरोनाका सक्रिय संक्रमित रहेको भएपनि अहिले भने संक्रमित नरहेको बताइएको छ ।
जिल्लामा अहिले पीसीआर विधिबाट १५ हजार ४९१ जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार ४४५ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै एन्टीजेन विधिबाट २७ हजार ८६ जनाको कोरोना परीक्षणमा गरिएकोमा ८ सय ८७ जनामा कोरोना पुष्टि भएको थियो । जिल्लामा अहिले सम्म कोरोनाबाट १८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
कोरोनाको दोश्रो लहर फैलिएका बेला जिल्लामा मानवीय क्षति भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति सुवेदीले बताए ।
जिल्लामा कोरोनाका सक्रिय संक्रमित शुन्य भएसंगै जनजीवन पनि सहज बनेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।