बैतडी –बैतडीका विद्यालयहरुमा गएर प्रहरीले सचेतना दिन थालेको छ । जिल्लाको पाटन नगरपालिकासंग सहकार्य गरेर नगर क्षेत्रभित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई विभिन्न कुराको बारेमा जानकारी दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा गएर कक्षा ९ देखि १२ सम्म विद्यार्थीहरुलाई विभिन्न कुराको बारेमा जानकारी दिने गरिएको शाहीले बताए । लागू औषध दुव्र्यसनी रोकथाम, लैगिंक हिंसा, सामाजिक अपराध रोकथाम लगायतका बिषयमा छलफल गर्ने गरिएको उनले बताए । उनले भने ‘समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्नका लागि हामीले किशोरकिशोरीहरुसंग अन्तरक्रिया गर्ने गरेका छौं । यसले समुदायमा हुने विभिन्न खालका हिंसाका घटनाहरु न्यूनीकरण हुने हाम्रो विश्वास रहेको छ ।’
विद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुसंग सामाजिक सञ्जालको दुरुपयोगले हुन सक्ने घटना, ठगीका घटना लगायतका बिषयमा समेत छलफल हुने गरेको छ ।
नगरपालिकाका १० ओटै वडाका एक ÷एक विद्यालयमा अन्तरक्रिया गर्ने कार्यतालिका रहेको प्रहरी निरीक्षक शाहीले बताए । अहिले सम्म वडा नं २, ३, ७ र १० अन्तरक्रिया गरिएको उनले बताए । बाँकी रहेका वडाहरुमा पनि छिट्टै कार्यक्रम सञ्चालन गरिने शाहीले बताए ।
प्रहरीले विद्यालयमा गएर विभिन्न कुराको जानकारी गराउँदा किशोरकिशोरीहरुलाई निकै फाइदा हुने सिगास मावि गौरीशंकर पोखरीका शिक्षक लवदेव अवस्थीले बताए ।