बैतडी –नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर शुरु गरेको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’अभियान बैतडीको दशरथचन्द नगरपालिकामा पनि शुरु भएको छ ।
दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंमा एक कार्यक्रमको आयोजना गरेर कार्यक्रमको शुरुवात गरिएको नेपाली कांग्रेसका नगरसभापति भुवनराज भट्टले बताए । यसअघि कांग्रेसले डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा अभियानको शुरुवात गरिसकेको छ ।
नेपाली कांग्रेसको विधान, निती र कार्यक्रमका बारेमा जानकारी दिनुका साथै कांग्रेसले गरेका कामहरुको बारेमा जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि घरघरमा कांग्रेस पुग्ने अभियान सञ्चालन गरिएको सचिव जोशीले बताए ।
अभियानको क्रममा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीले कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्ने बताए । संविधानको सफल कार्यान्वयन र देश विकासका लागि कांग्रेसलाई भोट दिनुपर्ने उनले बताए ।
आमसभामा नेपाली कांग्रेस सुदूरपश्चिमका उपसभापति लोकराज अवस्थी, जिल्ला सभापति चतुरबहादुर चन्द, पूर्व सभापति नरबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।