बैतडी –बैतडीमा यो बर्ष होलीको रौनक छाएको छ । कोरोनाका कारण गएको दुई बर्ष होली खेल्न नपाएका यहाँका स्थानीयहरु यो बर्ष होलीमा रमाएका छन् । होलीको समयमा रंग र अबीरसंगै विभिन्न गाथाहरु गाउने चलन रही आएको स्थानीय महेश भट्टले बताए । दुई बर्ष होली खेल्न नपाएको र यो बर्ष होली खेल्न पाउँदा निकै रमाइलो लागेको उनले बताए ।
होलीमा संस्कृति संरक्षणका साथै मनोरञ्जन प्राप्त हुने भएकाले यसमा युवाहरुको समेत आकर्षण रहेको दशरथचन्द नगरपालिकाका १ का अमर टेरले बताए । आफूहरुले सत्यम् शिवम् सुन्दरम् समाज बनाएर होली खेलेको उनको भनाई छ । उनले भने ‘होली खुसी र रंगहरुको पर्व हो । यो पाली होली खेल्न पाउँदा निकै रमाइलो भएको छ ।’
विभिन्न विद्यालय, क्लब, आमा समूहहरुले पनि सामूहिक रुपमा होलीको आयोजना गरेर खेलीरहेका छन् । होली परापूर्वकालदेखि चल्दै आएको पर्व भएकाले यसमा रमाइलो हुने गरेको सुर्नया ५ का धौलसिंह बिष्टले बताए । उनले भने ‘होली भगवान श्रीकृष्णको गाथासंग जोडिएको छ । गलत प्रवृतिको अन्त्य गर्नुपर्छ भन्ने सन्देश यो पर्वले दिएको छ ।’
एकआपसमा रंग र अबीर खेलेर मनाइने होली पर्वलाई रंगहरुको पर्व भनेर समेत भन्ने गरिन्छ । होलीमा पछिल्लो समयमा केही विकृतिहरु पनि देखिएकाले ती विकृतिहरुको अन्त्य गर्नुपर्ने संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।
होली मानव जीवनसंग जोडिएको पर्व भएको लेखकको भनाई छ । वसन्त ऋतुको आगमनसंगै हुने होली पर्वले आत्मीयता, सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलको उनले बताए । मानसखण्ड क्षेत्रमा नेपालको सुदूरपश्चिमदेखि भारतको कुमाउ गढवाल सम्म एकै किसिमको होली मनाउने प्रचलन रही आएको उनले बताए ।
पहाडी जिल्लाहरुमा आज होलीको अन्तिम दिन चीरदाह गरेर होली समापन गरिन्छ भने तराईका जिल्लाहरुमा भोली होली समापन गरिनेछ ।