बैतडी –बैतडी विमानस्थल पाटनमा हवाईजहाज सञ्चालनमा आएपछि स्थानीयहरुलाई सहज भएपनि भाडा महंगो हुँदा समस्या भएको छ । बैतडी विमानस्थल पाटनमा निजी कम्पनीको समीट एयरले हप्ताको एकदिन उडान भर्दै आएको छ । शुरुमा ३ हजार ८ सय भाडा रहेकामा अहिले भाडा बढेर ४ हजार ५ सय पुगेको छ ।
हवाई इन्धनको मूल्य बढेपछि भाडा बढेको बैतडी नागरिक उडड्यन कार्यालयका बरिष्ठ अधिकृत दीपक भट्टले बताए ।
पाटनदेखि धनगढीको भाडा निकै महंगो भएको स्थानीयहरुले गुनासो गरेका छन् । हप्ताको एकदिन भएपनि जहाज सञ्चालन हुँदा केही राहत भएपनि महंगो भाडाका कारण सबैको पहुँच पुग्न नसकेको पाटन नगरपालिका १ का गणेशदत्त भट्टराईले बताए । उनले भने ‘पाटन–धनगढीको भाडा निकै महंगो भयो । यसले गर्दा सबै नागरिकको पहुँच पुग्न सकेको छैन् ।’
पाटन–धनगढीको हवाई भाडा महंगो हुँदा नागरिकलाई समस्या भएको दशरथचन्द नगरपालिका ४ की सरस्वती नेपालीले बताइन् । भाडादरमा पुनर्विचार हुनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन् ‘जहाज सञ्चालनमा आएपछि केही सजिलो भएको छ । तर भाडा महंगो हुँदा निकै समस्या भएको छ । सबैको पहुँच नै पुग्न सकेको छैन् ।’
२०७६ असोजमा परीक्षण उडान सफल भएपछि बैतडी विमानस्थल पाटनमा निजी कम्पनीको हवाईजहाजले मात्रै उडान भर्दै आएको छ । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको जहाज उडान नहुँदा यात्रुहरुले बढी भाडा तिर्नुपर्ने बाध्यता रही आएको छ ।
सुदूरपश्चिमका केही पहाडी जिल्लाका विमानस्थलमा नेपाल एयरलाइन्सले उडान भर्दै आएपनि बैतडी विमानस्थल पाटनमा भने निजी क्षेत्रको हवाई कम्पनीले मात्रै उडान भर्दै आएको छ ।