बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा भोली (शनिबार) देखि उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको पाचौं संस्करण शुरु हुने भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । नगरक्रिकेट समितिका संयोजक रमेश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने नगरपालिकाभित्रका ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
सार्वजनिक खेलतालिकाअनुसार समूह ए मा वडा नम्बर ६,९ र ५ रहेका छन् । समूह बी मा वडा नम्बर २,८,४,११ रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा चैत ५ गते वडा नम्बर ६ र ९ खेल्नेछन् । यस्तै चैत ६ गते हुने पहिलो खेलमा वडा नम्बर २ र ८ भिड्दा दोस्रो खेलमा वडा नम्बर ४ र ११ आमनेसामने हुनेछन् ।
चैत ७ गते पहिलो खेलमा वडा नम्बर २ र ४ खेल्नेछन् भने दोस्रोमा वडा नम्बर ९ र ५ प्रतिस्प्रर्धा गर्नेछन् । चैत ८ गतेकोे पहिलो खेलमा वडा नम्बर ८ र ११ तथा दोस्रो खेलमा वडा नम्बर ६ र ५ भिड्नेछन् । चैत ९ गते पहिलो खेलमा वडानम्बर ४ र ८ तथा दोस्रो वडा नम्बर २ र ११ बीच भिडन्त हुनेछन् ।
प्रतियोगिता अन्र्तगत चैत १० गते सेमिफाइनलका खेलहरु हुने भएका छन् । पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेता भिड्दा दोस्रोमा समूह बी को विजेता र समूह ए को उपविजेता प्रतिस्प्रर्धा गर्नेछन् ।
चैत ११ गते प्रतियोगिताको फाइनल खेल हुने नगर क्रिकेट समितिले जनाएको छ ।
उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ ।प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन् ।
नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुदैं आएको नगरक्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए ।