बैतडी –बैतडीको पाटन नगरपालिका ४ का आयुष बिष्टको उपचारका लागि सहयोग रकम पठाईएको छ । गत वैशाख १२ गते करेन्ट लागेर घाइते भएका आयुषको अहिले भारतको रुद्रपुर स्थित नारायण अस्पतालमा उपचार भईरहेको र उनको उपचारका लागि संकलन भएको सहयोग रकम पठाइएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक एवं सामाजिक अभियान्ता महेश अवस्थीले बताए ।
शिवांश हेल्प फाउण्डेसन मार्फत आयुषको उपचारमा सहयोग पुर्याउन रकम संकलन हुँदै आएको छ । अहिले सम्म संकलन भएको १ लाख १५ हजार ५३४ रुपैंया आयुषकी आमा शान्ति बिष्टको खातामा जमा गरिएको उनले बताए ।
नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण आयुष करेन्ट लागेर घाइते भएका थिए । गोठालो गएको बेला हातले विद्युतको तार छुँदा आयुषलाई करेन्ट लागेको थियो ।
आयुषको उपचारमा आर्थिक अभाव भएको कुरा बाहिर आएपछि सहयोग संकलन अभियान शुरु भएको अवस्थीले बताए । अझै पनि अभियान जारी रहेको उनले बताए ।