बैतडी –सुख्खायाम शुरु भएसंगै बैतडीका विभिन्न स्थानमा खानेपानीको समस्या हुन थालेको छ । मूहानहरुमा समेत पानी सुक्न थालेपछि खानेपानीको समस्या भएको स्थानीयहरुले बताएका छन् ।
बैतडीको पाटन नगरपालिका ३ दमोरामा खानेपानीको चरम अभाव भएको स्थानीय दिपेन्द्र पन्तले बताए । गाउँमा खानेपानी नहुँदा एक घण्टा टाढाको मूहानबाट खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रही आएको उनले बताए । उनले भने ‘खानेपानीका लागि घरको एकजनाले दिनभरी ड्युटी दिनुपर्ने अवस्था रहेको छ ।’
गाउँमा खानेपानी नहुँदा निकै समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । सो ठाउँमा गएको बर्ष लिफ्टििङ प्रणाली मार्फत खानेपानी ल्याएको भएपनि त्यो पनि सफल हुन सकेको छैन् ।
गाउँमा खानेपानीका लागि निकै भौतारिनुपर्ने अवस्था रही आएको स्थानीय दिपेन्द्र अवस्थीले जानकारी दिए । खानेपानीको जोहो गर्दा बालबालिकाहरुको विद्यालय समेत छुट्ने गरेको उनले बताए । उनले भने ‘चुनावको बेला गाउँमा खानेपानीको व्यवस्थापन गर्ने नेताहरुले आश्वासन दिएको भएपनि पानीको व्यवस्थापन भएको छैन् । हामीलाई गाउँमा खानेपानीको निकै समस्या रही आएको छ ।’
गाउँमा देखिएको खानेपानीको समस्याका बिषयमा वडा अध्यक्ष फरेन्द्र बिष्टले भने धेरै ठाउँमा खानेपानीको व्यवस्थापन भईसकेको जिकिर गरे । कसैलाई खानेपानीको समस्या भएमा वडा कार्यालयमा सम्पर्क राख्न पनि उनले आग्रह गरे ।