बैतडी –बैतडीमा राष्ट्रिय परिचय पत्रका लागि वडा तहबाटै विवरण संकलनको काम शुरु हुने भएको छ । नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचय पत्र प्रदान गर्नका लागि वडाबाटै आइतबारदेखि विवरण संकलनको काम शुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
जिल्लाका १० ओटै स्थानीय तहका वडाबाट विवरण संकलनको काम हुने भएपनि पहिलो चरणमा डिलाशैनी र सिगास गाउँपालिकाका वडाहरुमा विवरण संकलनको काम हुने उनले बताए । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न विवरण दर्ता अपरेटर नियुक्त गरिसकेको र उनीहरु आइतबार सम्बन्धित वडामा पुग्ने सूचना अधिकारी भारतीले बताए ।
राष्ट्रिय परिचयपत्र बहुउपयोगी परिचय पत्र भएकाले आफ्नो वडामा गएर परिचय पत्र बनाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । नागरिकताको सक्कलै प्रति लगेर वडा कार्यालयमा जानुपर्ने सूचना अधिकारी भारतीले बताए । विवाहित महिलाको हकमा नागरिकता बनाउँदा नागरिकतामा श्रीमानको नाम भएमा नागरिकता मात्रै र अगाडि नै नागरिकता बनेको भए विवाह दर्ताको प्रमाण पत्र समेत आवश्यक हुने बताइएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अहिले यो कार्यक्रम विभिन्न जिल्लामा सञ्चालन गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।