Sagun Khabar
मेलौलीमा डम्पिङ साइड नहुँदा समस्या 

बैतडी –बैतडीको मेलौली नगरपालिका डम्पिङ साइड नहुँदा समस्या भएको छ । स्थानीय सरकारको पहिलो कार्यकाल सकिन लाग्दा समेत डम्पिङ साइड बनाउन नसकिएको हो । डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा निकै समस्या भएको छ । 

डम्पिङ साइडको अभावमा बजारको फोहर व्यवस्थापन गर्न निकै समस्या भएको स्थानीयहरुले बताएका छन् । फोहरको उचित व्यवस्थापन नहुँदा मेलौलीको काँडा बजार दुर्गन्धित बन्दै गएको छ । बजारबाट निस्कने फोहर व्यवस्थापन नहुँदा समस्या भएको स्थानीय केशवसिंह भाटले बताए । 

Atrya hospital

डम्पिङ साइड निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको भएपनि डम्पिङ साइड निर्माणका लागि ठाउँ नपाउँदा समस्या भएको नगर प्रमुख कृष्णसिंह नायकले बताए । दुई तिन ठाउँमा जग्गा हेरेपनि स्थानीयहरुको सहमति नहुँदा डम्पिङ साइड निर्माणमा बाधा पुगेको उनले बताए । उनले भने ‘हामीले दुई तीन ठाउँमा जमीन हेर्यौं । केही ठाउँमा सडक नहुँदा समस्या भएको छ । केही ठाउँमा स्थानीयहरुले सहमति दिएनन् ।’

नगरपालिकाले जनप्रतिनिधि आएकै बर्षदेखि डम्पिङ साइड निर्माणका लागि पहल गरेको भएपनि ठाउँकै अभावमा बनाउन नसकिएको नगरप्रमुख नायकले बताए । चालु आर्थिक बर्षमा पनि डम्पिङ साइडका लागि नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । उनले भने ‘हामीले कार्यपालिकाबाट निर्णय गरेर बजेट पनि विनियोजन गरेका हौं । तर ठाउँ नपाउँदा समस्या भएको छ ।’

डम्पिङ साइड नहुँदा बजारको फोहर व्यवस्थापनमा निकै चुनौती देखिएको छ । अस्थायी रुपमै नगरपालिकाले अहिले फोहर व्यवस्थापन गरिरहेको छ । फोहर व्यवस्थापनका लागि ठोस पहल नहुँदा समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०९:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update