Sagun Khabar
बैतडीको पाटनमा कांग्रेसको चुनावी अभियान शुरु 

बैतडी –नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सञ्चालन गरेको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’अभियान अन्तर्गत बैतडीको पाटनमा पनि अभियान शुरु भएको छ । 

बैतडीको पाटन नगरपालिका ८ खोड्पेबाट अभियानको शुरुवात गरिएको नेपाली कांग्रेसका नगरसभापति विष्णुप्रसाद भट्टले बताए । 

Atrya hospital

प्रत्येक स्थानीय तहमा अभियान सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत आजदेखि पाटनमा अभियान शुरु भएको हो । यसअघि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा अभियान शुरु भईसकेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । 

स्थानीय तहको निर्वाचनमा कांग्रेसको रणनीतिका बारेमा जानकारी दिने, कांग्रेसले गरेका कामको बारेमा जानकारी दिने, आगामी निर्वाचनमा कांग्रेसलाई भोट दिन आग्रह गर्ने उद्देश्यले अभियान शुरु गरिएको उनले बताए । 

बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा अभियानको शुरुवात गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीले लोकतन्त्र रक्षाका लागि नेपाली कांग्रेसलाई भोट दिनुपर्ने बताए । लोकतन्त्रको संस्थागत विकास र संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले जित्नुपर्ने उनको जिकिर छ । 

अभियानको शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश उपसभापति लोकराज अवस्थी, जिल्ला सभापति चतुरबहादुर चन्द, पूर्वसभापति शिवराज भट्ट, महाधिवेशन प्रतिनिधि केशवबहादुर चन्द, महाधिवेशन प्रतिनिधि हरिमोहन भण्डारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update