Sagun Khabar
मोरङको लेटाङमा झडप हुँदा एक महिला प्रहरीको ज्यान गयो, लेटाङ र आसपासका क्षेत्रमा कर्फ्यु

काठमाण्डौ – मोरङको लेटाङ–५ मा हिजो आक्रोशित भिडको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएको छ । 

स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेको विषयमा भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।

Atrya hospital

उनको कोसी अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको मोरङ प्रहरीले जनाएको छ । 

शुक्रवार होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि हिजो विद्यालयमा यसबारे छलफल भएको थियो । 

छलफल भइरहँदा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो । 

आक्रोशित स्थानीय बासिन्दाले प्रहरीमाथि नै आक्रमण गरेको र आक्रमणमा परेर प्रहरी जवान श्रेष्ठको ज्यान गएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए बताउनुभयो । उनका अनुसार अरु केही प्रहरी घाइते भएका छन् ।

आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो । अहिले स्थिति नियन्त्रणमा आएको र लेटाङ आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update