बैतडी –बैतडीको पाटनमा मिनी ट्रक दुर्घटना हुँदा घाइते भएका दुईजनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । डडेल्धुरा अस्पतालमा उपचार गराईरहेका सुर्नया गाउँपालिका ३ बिजुलका कलावती भट्ट र माधवी चन्दलाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
डडेल्धुरा अस्पतालमै उपचार गराईरहेका सोही ठाउँका वसन्ती भट्टलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । तर डडेल्धुरामै रहेका स्थानीय खेमराज भट्टले उनी पनि थप उपचारका लागि धनगढी गएका बताए ।
दुर्घटनामा समान्य घाइते भएका सुर्नया ३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्टको पाटनमा उपचार पछि घर फर्किएका छन् ।
आइतबार साँझ पाटनबाट सुर्नया तर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।
सुर्नया गाउँपालिका ३ का २५ बर्षीया दुर्गा चन्दको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।