Sagun Khabar
रातो माटोले घर टल्काउने दुर्गाको सपना अधुरै 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ३ बिजुलकी २४ बर्षीया दुर्गा चन्दको मिनी ट्रक दुर्घटनामा परेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमग्न भएको छ । आइतबार साँझ पाटनमा भएको मिनी ट्रक दुर्घटनामा उनको मृत्यु भएको थियो । 
घर पोत्नका लागि रातो माटो ल्याउन गाउँका साथीहरुसंगै पाटन पुगेकी उनी कहिले नफर्कने गरेर अस्ताइन् । चैतको महिना रातोमाटोले घर टिलिक्क पार्ने उनको सपना अधुरै रह्यो । 

त्यति मात्रै होइन दुर्गा गाउँकी महिला स्वास्थ्य स्वयं सेविका पनि थिइन् । उनले घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएकी थिइन् । ट्रक दुर्घटनामा परेर उनको मृत्यु भएपछि अहिले गाउँका सबै मानिस रोईरहेका स्थानीय खेमराज भट्टले बताए । उनले भने ‘दुर्गाजीले घरघरमा पुगेर स्वास्थ्य सेवा दिनुहुन्थ्यो । उहाँको निधन भएपछि अहिले पुरै गाउँ शोकमा डुबेको छ ।’

Atrya hospital

वासुलिंग स्वास्थ्यचौकी अन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेविका चन्दको निधन भएपछि एक असल स्वास्थ्यकर्मी गुमाएको स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्यचौकीबाट टाढाको गाउँमा स्वास्थ्य सेवा पुर्याउन तल्लिन चन्दको मृत्युले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति भएको स्वास्थ्यचौकीका प्रमुख दलबहादुर बिष्टले बताए । उनले भने ‘महिला स्वास्थ्य स्वयंसेविका मध्ये उहाँ उत्कृष्ट हुनुहुन्थ्यो । उहाँको निधनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको छ ।’

आइतबार साँझ गाउँका ६ जना रातोमाटो लिएर पाटनबाट घर फर्कदै थिए । रातो माटोले घर पोत्नका लागि उनीहरु खुसी भएर ट्रकमा आउँदै थिए । तर ट्रक दुर्घटना भएपछि उनीहरुको खुसी लुटिएको छ । सो दुर्घटनामा १ जनाको निधन भयो भने  ५ जना घाइते भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update