Sagun Khabar
बैतडीमा आप्रवासी कामदारको दुर्घटना बीमा बारे छलफल 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा रोजगारीका लागि भारत जाने आप्रवासी कामदारको दुर्घटना बीमा शुरु गरिएपछि त्यसलाई प्रभावकारी बनाउन सरोकारवालाहरुसंग छलफल गरिएको छ । 

रुडेस बैतडीले पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका जनप्रतिनिधिहरुसंग आप्रवासी कामदारको दुर्घटनाका बीमाका बिषयमा छलफल गरेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । 

Atrya hospital

दुवै पालिकाका केही ठाउँमा आप्रवासी कामदारको बीमा कार्यक्रम शुरु भएको र यसलाई विस्तारका लागि सरोकारवालाहरुसंग छलफल गरिएको जोशीले बताए । 

यस्तै जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्तालाई सहकारी मार्फत वितरण गर्ने बिषयमा पनि छलफल भएको जोशीले बताए । 

दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा २ सय बढी आप्रवासी कामदारको दुर्घटना बीमा गरिसकिएको रुडेसले जनाएको छ । 

आप्रवासी कामदारको दुर्घटना बीमा राम्रो कार्यक्रम भएकाले आफूहरुले पनि सहयोग गरिरहेको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । पाटन नगरपालिकाले आप्रवासी कामदारहरुको दुर्घटना बीमा गर्ने कार्यविधि बनाएको समेत उनले बताए । 

रुडेसले आयोजना गरेको संयुक्त अनुगमन कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, पाटन नगरपालिका प्रमुख केशवबहादुर चन्द,दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहरा लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update