बैतडी –स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर नेपाली कांग्रेसले सञ्चालन गरेको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान शिवनाथ गाउँपालिकामा पनि शुरु भएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने उद्देश्यका साथ शिवनाथमा पनि अभियान शुरु भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति शिवराज भट्टले बताए ।
नेपाली कांग्रेसको नीति, सिद्धान्त र विचारका बारेमा जानकारी दिने, कांग्रेसले गरेका कामहरुको बारेमा जानकारी दिने, स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई भोट दिन आग्रह गर्ने लगायतका उद्देश्य राखेर अभियान सञ्चालन गरिएको उनले बताए ।
अभियानको शुरुवात गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीले लोकतन्त्रको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई भोट दिनुपर्ने बताए । उनले भने ‘कम्युनिष्टहरुका कारण देश बर्वाद भईसकेको छ । देशलाई जोगाउन कांग्रेसलाई भोट दिनु आवश्यक छ ।’
अभियानको शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिमका उपसभापति लोकराज अवस्थी, नेपाली कांग्रेस बैतडीका पूर्व सभापति नरबहादुर चन्द, शिवराज भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।