बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ को थलाल गाउँका किसान प्याजको बीउ र बेर्नाबाटै जिविकोपार्जन गरिरहेका छन् । गाउँका करीब ४० घरपरिवार किसानहरुले व्यवसायिक रुपमा प्याजको बीउ र बेर्ना उत्पादनको काम गरिरहेको स्थानीय किसान मोहन थलालले बताए ।
थलाल गाउँमा उत्पादित प्याजको बीउलाई नेपाल सरकारले बैतडी लोकल प्याज भनेर प्रमाणीकरण समेत गरिसकेको उनले बताए । नेपाल कृषि अनुसन्धान परिषदले प्याजको बीउलाई मान्यता दिएको थलाले बताए । उनले भने ‘हामी यो गाउँका किसानहरु पहिलादेखि प्याजको बीउ र बेर्ना उत्पादनमा लागेका हौं । अहिले विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट पनि सहयोग भईरहेको छ ।’
प्याजको बीउ र बेनाबाटै घरपरिवार चलाउने स्थानीय राजमति थलालले बताइन् । गाउँका महिला पुरुष सबै प्याजको बेर्ना र बीउ उत्पादनमा लागेका उनले बताइन् ।
अहिले पनि प्याजको बीउका लागि बारीमा प्याज तयार भईरहेको किसान बीरसिंह थलालले बताए । आफूले कम्तीमा १० केजी बीउ उत्पादन गर्ने लक्ष्य राखेको उनले सुनाए । अहिले बजारमा प्याजको बीउ प्रतिकेजी तीनहजारका दरले विक्रि हुँदै आएको छ । उनले भने ‘प्याजको बीउ र बेर्नाबाट प्रत्येक बर्ष एकलाखको हाराहारीमा कमाई हुने गरेको छ । हाम्रो गाउँको मुख्य आम्दानीको श्रोत प्याजको बीउ र बेर्ना नै हो ।’
प्याजको बीउ र बेर्ना उत्पादनमा लागेका थलाल गाउँका किसानहरुलाई सिप्रेडले पनि प्राविधिक सहयोग गर्दै आएको छ । किसानहरुले बर्षौंदेखि उत्पादन गर्दै आएको प्याजको बीउलाई प्रमाणीकरण गर्नका लागि सिप्रेडले सहयोग गरेको कार्यक्रम संयोजक भुवन भट्टले बताए ।
प्याजको बीउ र बेर्ना उत्पादनमा लागेका थलाल गाउँका किसानहरुलाई स्थानीय सरकारबाट समेत सहयोग हुँदै आएको छ । प्याजको बीउ जोगाउन स्थानीयहरुलाई सहज होस भनेर वडा कार्यालयबाट नेटजालीको सहयोग गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।
प्याजको बीउ र बेर्ना उत्पादनमा लागेका किसानहरुलाई सिँचाईको अभाव भएकाले सो समस्या समाधानका लागि पहल गर्ने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।