Sagun Khabar
बैतडीको पञ्चेश्वरमा भण्डारीलाई अध्यक्षको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय 

बैतडी –स्थानीय तहको चुनाव नजिक आएका बेला विभिन्न ठाउँमा राजनैतिक दलहरुले उम्मेद्वार घोषणा गर्न थालेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकामा कांग्रेसका तर्फबाट रमेशसिंह भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

पार्टीको गाउँपालिका कार्यसमितिको सोमबार बसेको बैठकले भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय भएको गाउँपालिका सभापति रामबहादुर चन्दले बताए । गाउँपालिका कार्यसमितिले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदको उम्मेद्वार घोषणा गरेको हो । 

Atrya hospital

पार्टीले निर्णय गरेसंगै आफू चुनावी मैदानमा होमिएको भण्डारीले बताए । उनले भने ‘मलाई पार्टीले सर्वसम्मत उम्मेद्वार घोषणा गरेपछि फिल्डमा खटिएको छ । जनतासंग मत माग्न थालेको छु ।’

पञ्चेश्वरमा नेपाली कांग्रेसलाई जिताउन नागरिकसंग मत माग्दै हिडेको समेत उनले बताए । जनताले जिम्मेवारी दिएमा समृद्ध पञ्चेश्वर बनाउने आफ्नो सपना रहेको भण्डारीले बताए । 

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिमा रहीसकेका युवा नेता भण्डारीले आफू नवीनतम् सोचका साथ अगाडि बढेको बताए । 

उनी अहिले पनि नेपाली कांग्रेसको यातायात समन्वय विभागको केन्द्रिय सदस्य र विपी विचार राष्ट्रिय समाजको जिल्ला सभापति समेत रहेका छन् । 

अध्यक्ष पदमा भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको भएपनि अन्य पदमा भने निर्णय भईसकेको छैन् । यस्तै वडा अध्यक्षको उम्मेद्वारका लागि वडा कार्यसमितिलाई जिम्मा दिइएको भण्डारीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update