Sagun Khabar
समुदायमै लुकेका छन् बैतडीमा क्षयरोगका बिरामी 

बैतडी –बैतडीमा क्षयरोगका बिरामी अझै खुलेर आउन सकेका छैनन् । जिल्लामा कम्ती ६ सयको हाराहारीमा क्षयरोगका बिरामी भएको अनुमान गरिएको भएपनि अहिले ११७ जना मात्रै उपचार रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

विश्व क्षयरोग दिवसको अवसरमा बिहीबार आयोजना गरिएको अन्तरक्रियामा क्षयरोगका बिरामीहरु स्वास्थ्य संस्थाको सम्पर्कमा अझै आउन नसकेको जानकारी दिइएको छ । नेपाल सरकारले क्षयरोगका बिरामीहरुको निशुल्क उपचार गर्ने भएपनि शंकास्पद बिरामीहरुले जाँच नगर्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । 

Atrya hospital

क्षयरोगका बारेमा गलत धारणा हुनु, जानकारीको अभाव हुनु लगायतका कारणले क्षयरोगका बिरामीहरु स्वास्थ्य संस्थाको सम्पर्कमा नआउने गरेको जनस्वास्थ्य निरीक्षक जोशीले बताए । 

यस्तै औषधि प्रतिरोध क्षयरोका बिरामी पनि बढ्दै गएका जोशीले बताए । क्षयरोगका बिरामीहरुले नियमित ६ महिना सम्म औषधि खानुपर्ने भएपनि बीचमै औषधि छाड्नेहरुका कारण क्षयरोग विकराल समस्या बन्दै गएको जोशीले बताए । क्षयरोगको औषधि बीचमै छोडेमा फेरी थप औषधि खानुपर्ने उनले बताए । 

क्षयरोग एक सरुवा रोग भएकाले यसको लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत आग्रह गरिएको छ । क्षयरोग भएमा लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउने, भोक नलाग्ने, खकारमा रगत देखिन लगायतका लक्षणहरु देखा पर्दछन् । यी लक्षणहरु देखापर्ना साथ नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यस्तै समुदायमा क्षयरोगका बिरामीहरुको खोजपड्ताल कार्यक्रमलाई थप प्रभावकारी बनाउन पनि आवश्यक रहेको छ । 

क्षयरोग अन्त्यका लागि लगानि बढाऔं, जीवन बचाऔं भन्ने मूल नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइएको हो । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update