बैतडी –स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर बैतडीमा जनप्रशिक्षण अभियान सञ्चालन गरेको माओवादी केन्द्रले आज खोड्पेमा अभियान सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका नीति, सिद्धान्त र विचार आम कार्यकर्तालाई बुझाउन प्रशिक्षण अभियान सञ्चालन गरिएको नेकपा माओवादी केन्द्र बैतडीका सहइन्चार्ज विक्रम कुँवर (प्रतीक)ले बताए ।
जनप्रशिक्षण अभियानमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले अहिलेको व्यवस्थाको सुत्रधार माओवादी केन्द्र भएकाले माओवादीलाई भोट दिन आग्रह गरे । नेकपा माओवादी केन्द्रले जितेमा मात्रै यो व्यवस्था बलियो हुने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला इन्चार्ज कुँवरका साथै सहइन्चार्जद्वय विक्रम कुँवर (प्रतीक) र भुवचन्द्र विक (शान), जिल्ला संयोजक शंकर भण्डारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जिल्लाका १० ओटै पालिकामा अभियान सञ्चालन हुने सहइन्चार्ज कुँवरले बताए ।