बैतडी – नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले आगामी स्थानीय तहमा जित्ने उम्मेद्वारलाई टिकेट दिने बताएका छन् । सगुन अनलाइन टीभीको चुनाव बिशेष कार्यक्रममा बोल्दै उनले योग्य उम्मेद्वार छनौट गरेर टिकेट दिने बताएका हुन् ।
पार्टीभित्र रहेका नेता र कार्यकर्ताहरुलाई कुनै भेदभाव नगरीकन टिकेट वितरण गरिने उनले दाबी गरे । उनले भने ‘पार्टीमा कुनै गुटउपगुट हुँदैन् । हामी एकढिक्का भएर अगाडि बढ्छौं । कसैलाई काखापाखा गरिन्न, यो कुरामा सबैलाई विश्वास दिलाउन चहान्छु ।’
आगामी स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नो पार्टीले बहुमत ल्याउने उनले दाबी गरे । उनले भने ‘हामीले अहिले पनि हरेक वडामा अभियान सञ्चालन गरिरहेका छौं । अभियानका दौरानमा पनि कांग्रेसप्रति लोभलाग्दो आकर्षण छ । त्यसकारण हामी बहुमत सीटमा जित हासिल गर्छौं ।’
एक अर्को प्रसंगमा सभापति चन्दले चुनावी गठबन्धन हुने कुरा केन्द्रको निर्णयमा भर पर्ने बताए । केन्द्रले निर्णय गरेमा आवश्यकता हेरेर स्थानीय तहहरुमा पनि गठबन्धन हुन सक्ने उनले संकेत गरे ।
जिल्ला कार्यसमितिले चैत २० गतेभित्रै उम्मेद्वारहरुको टुंगो लगाउने गरेर गृहकार्य समेत गरिरहेको सभापति चन्दले बताए । उनले भने ‘हामीले सकेसम्म चाँडै उम्मेद्वार टुंग्याउने पक्षमा छौं । त्यसको लागि गृहकार्य गरिरहेका छौं ।’