Sagun Khabar
बैतडीमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड 

बैतडी –बैतडीमा वडा तहबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान शुरु भएपछि परिचय पत्र बनाउनेको भीड लागेको छ । जिल्लाको सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका वडाहरुमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम भईरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

दुईटै गाउँपालिकाका वडाहरुमा ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन् । वडामा सञ्चालन भएको अभियानमा नागरिकको उत्साहजनक सहभागिता रहेको सूचना अधिकारी भारतीले बताए । 

Atrya hospital

राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचय पत्रका बिषयमा प्रचारप्रसार हुनु, यसको महत्वका बारेमा सबैले जानकारी पाएका कारण राष्ट्रिय परिचय पत्र बनाउनेको वडामा भीड लागेको भारतीले बताए । उनले भने ‘राष्ट्रिय परिचय पत्र बनाउनका लागि जुन वडाहरुमा अभियान सञ्चालन भएको छ । ती वडाहरुमा अहिले नागरिकको उत्साहजनक सहभागिता छ ।’

सिगास र डिलाशैनीमा अभियान सम्पन्न भएपछि अन्य पालिकाहरुमा पालैपालो अभियान सञ्चालन हुने सूचना अधिकारी भारतीले बताए । 

राष्ट्रिय परिचय पत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुवा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ । यसैगरी बसाईसराई गरेको भए सो प्रमाणपत्र,राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update