बैतडी – बैतडीमा २२ हजार बढी नागरिक स्वास्थ्य बीमामा आवद्ध भएका छन् । जिल्लाका २२ हजार ९३३ जना स्वास्थ्य बीमामा आवद्ध भएका स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताए । १८ हजार १८५ जना जेष्ठ नागरिक र २ हजार ५ सय २९ जना अन्य नागरिक स्वास्थ्य बीमामा आवद्ध भएका उनले बताए ।
जेष्ठ नागरिक, एचआइभी संक्रमित, अपांगता भएका व्यक्ति, एमडीआर टीबी भएका व्यक्तिहरुको नेपाल सरकारले निशुल्क रुपमा स्वास्थ्य बीमा गर्दै आएको छ । स्वास्थ्य बीमा गरेका नागरिकलाई १ लाख रुपैंया बराबरको उपचार निशुल्क गर्ने गरिएको बडालले बताए ।
३ हजार ५ सय बराबर प्रिमियम तिरेमा १ लाख बराबरको उपचार निशुल्क हुने उनले बताए । ५ जना सम्मको बीमा ३ हजार ५ सय प्रिमियम तिरेमा गर्ने गरिएको बडालले बताए ।
स्वास्थ्यबीमामा आवद्ध नागरिकको सूचीकृत स्वास्थ्य संस्था र अस्पतालहरुमा निशुल्क उपचार हुने गरेको छ । आर्थिक अभावमा उपचारमा पहुँच पुग्न नसकेका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि स्वास्थ्यबीमा कार्यक्रम लागू गरिएको बताइएको छ ।
दर्ता सहयोगीहरुमार्फत स्वास्थ्य बीमा गर्ने कार्यक्रम जारी रहेको स्वास्थ्य बीमा बोर्ड बैतडीले जनाएको छ ।