Sagun Khabar
बैतडीका कच्ची सडकमा मनोमानी भाडा 

बैतडी –बैतडीका विभिन्न ठाउँका कच्ची सडकहरुमा यातायात व्यवसायीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कच्ची सडकमा जिप व्यवसायीले आफूखुसी भाडा असुल गर्ने गरेको यात्रुहरुको गुनासो रही आएको छ । 

जिल्लाको ढोल्यामोड देखि पुर्चौंडी हाट सम्म १६ किलोमिटर सडक भएपनि भाडा भने ५ सय तिर्नुपरीरहेको गुनासो आएको छ । जथाभावी भाडा असुल हुँदा समेत सरोकारवाला निकायहरुको ध्यान नगएको गुनासो रही आएको छ । 

Atrya hospital

मनोमानी भाडाका साथै क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम समेत बढ्दै गएको पुर्चौंडीका स्थानीय पुरन ऐरले बताए । जिपको पछाडि र छतमा समेत व्यवसायीले यात्रु बोक्ने गरेको उनले बताए । उनले भने ‘हामीले भाडाका बिषयमा के भन्न सक्तैनौं । सरोकारवाला निकायहरुको ध्यान नै गएको छैन् ।’

यस्तै सतबाँझदेखि सुर्नयाको भाडा पनि निकै महंगो भएको तर सरोकारवाला निकायले ध्यान नदिएको यात्रुहरुले गुनासो गरेका छन् । सडकमा गाडी चलेको बेला गाडीमा चढेर आवतजावत गर्नुपर्ने तर भाडाका कारण समान्य नागरिकलाई गाडी चढ्नै मुस्किल भएको सुर्नया ६ का दिवाकर अवस्थीले बताए । उनले भने ‘जिपमा यात्रा गर्दा निकै महंगो भाडा छ । समान्य नागरिकको पहुँच भन्दा बाहिर जाने हिसाबले जिप व्यवसायीले भाडा असुल गर्ने गरेका छन् ।’
सतबाँझदेखि सुर्नयाको वडा नं ६ सम्म चारसयदेखि साढे चार सय सम्म भाडा असुल्ने गरिएको छ । 

यस्तै मेलौलीदेखि पञ्चेश्वरको भाडा समेत जिप व्यवसायीले मनोमानी तरीकाले असुल्ने गरेका छन् । कच्ची सडकमा जिप व्यवसायीहरुले मनोमानी भाडा असुल गर्दा समेत कसैले ध्यान नदिएको यात्रुहरुको गुनासो छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update