बैतडी – आगामी स्थानीय तहको निर्वाचनका लागि बैतडीमा तिलकबहादुर कार्की मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले जिल्ला अदालत बैतडीका न्यायधिश कार्कीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
यस्तै दार्चुलामा कोमलप्रसाद आचार्य, डडेल्धुरामा,हरिप्रसाद शर्मा, बझाङमा विष्णुप्रसाद अवस्थी, डोटीमा विदुर काफ्ले, बाजुरामा माधवप्रसाद घिमिरे र अछाममा नवीन कुमार जोशी मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।
यस्तै कैलालीमा जयानन्द पनेरु र कञ्चनपुरमा मदनबहादुर धामी मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।
२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ ।
निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहेको छ ।