बैतडी –नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले स्थानीय तहको निर्वाचनमा नेकपा एस निर्णायक शक्तिको रुपमा उभिने बताएका छन् । सगुन अनलाइन टीभीको चुनाव बिशेष कार्यक्रममा बोल्दै उनले गठबन्धन अहिलेको आवश्यकता रहेको बताए । उनले भने ‘अहिले मुद्दाका हिसाबले पनि सत्ता गठबन्धनले चुनावी गठबन्धन गर्नुपर्छ । यसमा हामी निर्णायक शक्तिको रुपमा उभिन्छौं ।’
अहिले आफूहरु चुनावी लक्षित गतिविधिमा केन्द्रित रहेको भट्टले बताए । अन्य दलको तुलनामा केही ढिला गरी आफूहरु जनता माझ गएपनि नागरिकको आकर्षण आफ्नो पार्टीमा रहेको उनले दाबी गरे ।
एक अर्को प्रसंगमा उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण पार्टी फुटेको बताए । उनले भने ‘लोकतन्त्र बचाउनेहरुको गठबन्धन गर्नुपर्ने भएकाले पार्टी फुटेको हो । ओलीको कार्यदिशा नै अलोकतान्त्रिक थियो ।’
अबको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन हुने उनले दाबी गरे । यो गठबन्धन लोकतन्त्र बचाउनका लागि भएकाले सबै पार्टी सहमत रहेका उनले बताए ।