बैतडी –गएको कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले धानबालीमा क्षति पुगेका किसानहरुलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
संघीय सरकारले धानबालीमा क्षति पुगेका किसानहरुलाई राहत दिनका लागि रकम पठाईसकेकाले निवेदन दिन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ‘धानबालीमा क्षति पुगेका किसानहरुलाई राहत उपलब्ध गराउने कार्यविधि–२०७८’अनुसार पीडित किसानहरुलाई राहत उपलब्ध गराइने उनले बताए । तर अहिले सम्म खासै निवेदन भने नआएको भारतीले बताए ।
राहतका लागि निवेदन दिनेहरुले १० रुपैँयाको टिकेट टाँसेको निवेदनका साथै वडा मुचुल्का र वडा सिफारिश राख्नुपर्नेछ । यस्तै प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञान केन्द्र बैतडीको सिफारिश, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसंगै राख्नुपर्ने सूचना अधिकारी भारतीले बताए ।
बैतडीमा धानबालीमा क्षति पुगेका किसानहरुलाई राहत उपलब्ध गराउन संघीय सरकारले आठ लाख रकम पठाएको उनले बताए ।