बैतडी –बैतडीमा जिप व्यवसायीहरुले बढी भाडा लिएको बिषयमा अनुगमन गरिने भएको छ । जिप व्यवासायीले मनोमानी भाडा लिने गरेको सम्बन्धि समाचार प्रकाशन र प्रशारण भएपछि स्थानीय प्रशासनले चासो लिएको हो ।
जिल्ला यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले रुट परमिट प्राप्त भएका सडकमा मात्रै यातायातका साधन सञ्चालन गर्न दिने र नियमानुसार भाडा लिए ÷नलिएको बारेमा अनुगमन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतमा बसेको बैठकले जिल्लाभरीका ग्रामीण कच्ची सडकहरुमा चल्ने जिपहरुले लिने भाडाका सन्दर्भमा स्थानीयस्तरमा रहेका प्रहरीचौकीबाट अनुगमन गराउने निर्णय भएको छ । तोकेको भन्दा बढी भाडा लिने गरेको पाइएमा कानुन अनुसार कारवाही हुने भारतीले बताए ।