Sagun Khabar
बैतडीका चारओटै नगरपालिका फोहर व्यवस्थापनमा असफल 
फोटो : बैतडीको पुर्चौंडीमा जथाभावी फालिएको फोहर

बैतडी –बैतडीका चारओटै नगरपालिकामा फोहर व्यवस्थापन चुनौती बनेको छ । नगरपालिकाहरुमा डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनका लागि समस्या भएको छ । जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै ल्याण्ड फिल साइड निर्माण गर्ने कुरा राखेको थियो । तर अहिले सम्म डम्पिङ साइड बनाउन सकेको छैन् । 

नगरपालिकाले अहिले पनि सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको छ । सबै किसिमका फोहर एकै ठाउँमा फाल्ने गर्दा यसले विभिन्न समस्या निम्त्याउने गरेको शाहीलेक स्थानीय विरेन्द्र पाण्डेयले बताए । 

Atrya hospital

डम्पिङ साइड निर्माणका लागि जमीन नपाउँदा समस्या भएको नगरपालिकाले बताउँदै आएको छ । नगरपालिकाले डम्पिङ साइड निर्माणका लागि जमीन खोज्ने पहल गरेको भएपनि जमीन नपाएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए । 

जिल्लाको पुर्चौंडी नगरपालिकामा फोहर व्यवस्थापन नहुँदा बजारको फोहर बजार, नदी र त्रिवेणी धाम आसपास फाल्ने गरिएको छ । यसले बजार क्षेत्र दुर्गन्धित बनेको र धार्मिक सम्पदाहरुमा समेत असर पारेको स्थानीय पुरन ऐरले बताए । 
तर नगरपालिकाले भने डम्पिङ साइड बनाउने निर्णय गरेको भएपनि कार्यान्वयन गर्न सकेको छैन् । शहरी विकास आयोजनाले डम्पिङ साइड बनाउने भनेपनि बजेट नपठाउँदा नबनेको नगरपालिकाका उपप्रमुख जानकी ऐरले बताइन् । 

जिल्लाको पाटन नगरपालिकाले पनि फोहर व्यवस्थापनका लागि अझै डम्पिङ साइड बनाउन सकेको छैन् । पाटन नयाँ शहर आयोजनाले नगरपालिकाको सन्तोलीमा डम्पिङ साइड बनाईरहेको भएपनि काम सम्पन्न भएको छैन् । 

मेलौली नगरपालिकामा पनि डम्पिङ साइड नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ । डम्पिङ साइड निर्माणका लागि बजेट विनियोजन गरेको भएपनि जमीन नपाउँदा समस्या भएको नगर प्रमुख कृष्णसिंह नायकले बताए । 

जिल्लाका चारैओटै नगरपालिकामा फोहर व्यवस्थापनको उचित प्रबन्ध नहुँदा नागरिकलाई समस्या भएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update