बैतडी –बैतडीमा आसन्न स्थानीय तहको चुनावको चहलपहल बढेको छ । अहिले मतदाता रिजाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ । मुख्य प्रतिस्र्पधीको रुपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् भने नेकपा माओवादी केन्द्रले पनि प्रत्येक स्थानीय तहमा जनप्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि चुनावी अभियान शुरु गरिसकेको छ भने राप्रपाले पनि स्थानीय तहहरुमा चुनावी अभियान शुरु गरेको छ ।
मतदाता आफ्ना पक्षमा पार्नका लागि दलका नेताहरु गाउँगाउँमा पुग्न थालेका छन् । नेपाली कांग्रेसले केन्द्रिय कार्यक्रम अनुसार ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरिरहेको छ । पालिकास्तरको अभियान सकेर अहिले वडा तहमा अभियान सञ्चालन भईरहेको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।
यस्तै एमालेले पनि गाउँगाउँमा संगठन विस्तार गर्नुका साथै चुनावी अभियानलाई तीव्रता दिएको एमाले बैतडीका सचिव चक्र कार्कीले बताए ।
यस्तै माओवादी केन्द्रले पनि चुनावी अभियानलाई तीव्रता दिएको नेकपा माओवादी केन्द्रका बैतडी सहइन्चार्ज विक्रम कुँवर (प्रतीक)ले बताए । एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले पनि चुनावी तयारी गरिरहेको सो पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टले बताए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घरदैलो अभियान शुरु गरिसकेको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । गएको स्थानीय तहको निर्वाचन भन्दा यो निर्वाचनमा बढी सफलता मिल्ने उनले दाबी गरे ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ६ ओटा स्थानीय तहको प्रमुख आफ्नो पक्षमा पार्न सफल भएको थियो । आसन्न स्थानीय तहको निर्वाचनमा त्यो संख्या बढाउन नेपाली कांग्रेस रणनीतिका साथ अघि बढीरहेको सभापति चन्दले बताए ।
एमाले पनि स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको एमाले सचिव कार्कीले बताए ।
दलका नेताहरु चुनावी अभियानमा गाउँगाउँमा पुगेका भएपनि नागरिक भने असन्तुष्ट देखिएका छन् । चुनावको बेला मात्रै दलका नेताहरु गाउँ पुग्ने गरेको उनीहरुको गुनासो छ । कतिपय सामाजिक सञ्जालमा समेत यस्तो गुनासो गर्ने गरेका छन् । चुनावको बेला मात्रै नेताहरु आश्वासनका लागि गाउँघर पुग्ने गरेको सुर्नया ६ का दिवाकर अवस्थीले बताए । जितेको ५ बर्ष पछि मात्रै नेताहरु गाउँमा पुग्न थालेका उनले बताए ।