बैतडी – सत्तारुढ गठबन्धनले चुनावमा तालमेल गर्ने सहमति गरेको भएपनि स्थानीयस्तरमा छलफल हुन सकेको छैन् । सत्तामा रहेका दलहरुले चुनावमा तालमेलका साथ अघि बढ्ने जनाएपनि बैतडीमा सत्तारुढ दलहरुबीच यो बिषयमा छलफल हुन सकेको छैन् ।
चुनावी तालमेलका बिषयमा दलहरुबीच छलफल नभएको नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दले बताए । स्थानीय स्तरमा कसरी अगाडि बढ्ने बिषयमा छलफल नभएको उनले बताए । उनले भने ‘हामीले आफ्नो तरीकाले चुनावी तयारीमा लागेका छौं । तर दलका नेताहरुसंग मिलेर छलफल गर्छौं ।’
चुनावी तालमेलका बिषयमा स्थानीयस्तरमा छलफल नभएपनि आफूहरु केन्द्रको निर्णय अनुसार अघि बढ्ने माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए । उनले भने ‘सत्तारुढ गठबन्धनले केन्द्रमा सहकार्यका साथ जाने निर्णय गरिसकेको छ । हामी स्थानीयस्तरमा पनि बसेर छलफल गर्छौं ।’
यस्तै एकीकृत समाजवादीका बैतडी अध्यक्ष महादेव भट्टले आफूहरु स्थानीयस्तरमा सहकार्यका साथ अघि बढ्ने संकेत गरेका छन् । तर आफूहरु एक्लै पनि चुनाव लड्न सक्षम रहेको उनले बताएका छन् ।