बैतडी –जिल्ला समन्वय समिति स्थापना भएको ५ बर्ष हुनै लाग्दा समेत कर्मचारीको पदपूर्ती हुन सकेको छैैन् । साविकको जिल्ला विकास समितिमा कर्मचारी हुने गरेको भएपनि जिल्ला समन्वय समिति भएपछि दरबन्दीका कर्मचारी नआएका जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए ।
कर्मचारीको अभावमा समन्वय समितिले गर्नुपर्ने कामहरु प्रभावित भएका उनले बताए । सरकारले नै जिल्ला समन्वय समितिको भूमिकालाई खुम्च्याएको प्रमुख भट्टले आरोप लगाए । उनले भने ‘जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउन सरकारले नै भूमिका खेलेको पाइदैन् । यसको भूमिका बढाउने काम नहुँदा समस्या भएको छ ।’
जिल्ला समन्वय समितिमा एकजना समन्वय अधिकारी, एक जना शाखा अधिकृत, एक जना इन्जिनियर, एक जना सब ओभरसियर र एक जना लेखापालको दरबन्दी खाली रहेको जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी गोविन्द भट्टले बताए ।
जिल्ला समन्वय समितिमा अहिले सम्म इन्जिनियर, ओभरसियर र लेखापाल कहिले नआएको उनले बताए । यस्तै समन्वय अधिकारी र शाखा अधिकृत पनि ६ महिनामात्रै पदपूर्ती भएको र त्यसपछि निमित्तकै भरमा काम भईरहेको छ ।
जिल्ला समन्वय समितिले समन्वय गर्ने, अनुगमन गर्ने लगायतका कामहरुको जिम्मेवारी पाएको भएपनि कर्मचारीको अभावमा ती कामहरु समेत प्रभावित भएका समन्वय समिति प्रमुख भट्टले बताए । यस्तै प्रदेशले कानुन बनाउन नसक्दा समन्वय समितिको भूमिका खुम्चिएको उनले बताए ।
जिल्ला समन्वय समितिलाई बलियो बनाउनुपर्ने र यसका लागि कानुन निर्माण गनुपर्नेमा उनले जोड दिए ।