Sagun Khabar
बैतडीका केही वडामा कांग्रेसले सर्वसम्मत उम्मेद्वार छनौट गर्यो 

बैतडी – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले वडा तहमा उम्मेद्वार छनौट गर्न थालेको छ । जिल्लाका केही स्थानीय तहका वडाहरुमा सर्वसम्मत उम्मेद्वार छनौट गरिएका कांग्रेसका वडा कार्यसमितिहरुले जनाएका छन् । 

सुर्नया गाउँपालिका वडा नं ८ को वडा अध्यक्ष पदका लागि भानबहादुर बोहरालाई सर्वसम्मत उम्मेद्वार चयन गरिएको छ । वडा कार्यसमितिको बैठकले बोहरालाई वडा अध्यक्ष पदका लागि उम्मेद्वार बनाउने निर्णय गरेको हो । 

Atrya hospital

वडा कार्यसमितिको बैठकले वडा सदस्यमा जयसिंह बोहरा,जयरामसिंह साउँद, महिला सदस्यमा राधिका साउँदलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । दलित महिला सदस्यको नाम भने पछि टुंगो लगाउने बोहराले बताए । वडा कार्यसमितिले सर्वसम्मत नाम छनौट गरेपछि आफू चुनावी प्रचारप्रसारमा जुटेको बोहराले बताए । 

यस्तै सिगास गाउँपालिका वडा नं ७ मा पनि वडा अध्यक्ष पदका लागि जयबहादुर ऐरलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको छ । वडा कार्यसमितिको बैठकले खुल्ला सदस्यमा लक्ष्मणसिंह साउँद र रामासिंह साउँदलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यस्तै महिला सदस्यमा बिस्ना चन्द र दलित महिला सदस्यमा सुना विकलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । 

यस्तै सिगास गाउँपालिका वडा नं ९ मा कांग्रेसका तर्फबाट कृष्णसिंह धामीलाई वडा अध्यक्ष पदको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको छ । यस्तै डिलाशैनी गाउँपालिका वडा नं ६ को अध्यक्ष पदका लागि उत्तरबहादुर बोहरालाई उम्मेद्वार बनाउने निर्णय भएको छ । 

जिल्लाको पुर्चौंडी नगरपालिकाका धेरै जसो वडामा अध्यक्ष पदका उम्मेद्वारको टुंगो लगाईसकेको नेपाली कांग्रेस पुर्चौंडी नगर कार्यसमितिले जनाएको छ । 

नेपाली कांग्रेस बैतडीले वडा तहबाट पालिका समितिमा चैत २२ गतेभित्र उम्मेद्वारको नाम पठाउन निर्देशन दिएको छ भने पालिका समितिले चैत २४ गतेभित्र प्रदेश क्षेत्रीय कार्य समितिमा नाम पठाउन भनेको छ । प्रदेश क्षेत्रीय कार्यसमितिले आफ्नो राय सहित चैत २६ गते जिल्ला कार्यसमितिमा उम्मेद्वारको नाम पठाउन निर्देशन दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update