बैतडी –बैतडीका ग्रामीण कच्ची सडकहरु धुलाम्य हुँदा यात्रुहरुलाई निकै सास्ती हुने गरेको छ । स्थानीय सरकारहरुले ग्रामीण कच्ची सडक बनाएपछि स्तरोन्नती नहुँदा सुख्खायाममा सडकहरु धुलाम्य हुने गरेका छन् । धुलाम्य सडकका कारण सडकमा पैदल हिड्नेहरुलाई झन सकस हुने गरेको छ । धुलाम्य सडकका कारण सडक छेउछाउमा हिड्नै नसकिने अवस्था रहेको पुर्चौंडी ७ का पुरन ऐरले बताए । उनले भने ‘ढोल्यामोड–हाट सडक स्तरोन्नती नहुँदा सुख्खायाममा धुलाम्य र बर्षातमा हिलाम्य हुने गरेको छ । यसले गर्दा यात्रुहरुलाई निकै समस्या हुने गरेको छ ।’
यस्तै मेलौलीदेखि पञ्चेश्वर सडकमा पनि धुलैधुलो हुँदा यात्रा गर्न कठीन भएको स्थानीय केशवबहादुर चन्दले बताए । सडकमा मोटरसाइकल गुडाउनै मुस्किल भएको उनले बताए । उनले भने ‘बिहान सफा लुगा लगाएर हिडेपनि साँझ धुलैधुलो भएर फर्किनुपरीरहेको छ ।’
जिल्लाको देहीमाण्डौं –गिरेगडा सडकमा पनि सोही समस्या रहेको छ । सडक धुलाम्य हुँदा हिडडुल गर्न निकै मुस्किल भएको स्थानीयहरुले बताए ।
स्थानीय तहहरुले खनेका कच्ची सडकमा सुख्खायाममा जिप चल्न भएपनि धुलोका कारण निकै समस्या हुने गरेको छ । स्थानीय सरकारले सडक खनेको मात्रै तर स्तरोन्नतीमा ध्यान नदिँदा समस्या भएको छ ।
जिल्लाको दुदिलाखान –गाँजरी, सिल्लेगडा–कटौंजपानी, अनारखोली–कैलपाल लगायतका सडकहरु पनि धुलाम्य हुँदा निकै समस्या भएको छ । धुलोकै कारण विभिन्न स्वास्थ्य समस्याहरु पनि आउन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।