Sagun Khabar
बैतडीमा जंगली जनावरले गहुँबाली  सखाप, किसान चिन्तामा  

बैतडी –बैतडीमा जंगली जनावरले अन्न तथा तरकारीबाली सखाप पारेको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ५ गोइचडा टोलमा जंगली बँदेलले गुहँबाली र तरकारीबाली सखाप पारेको हो । गोइचडा टोलका १५ जना किसानले खेतमा लगाएको गुहँबाली र तरकारीबाली बँदेलले सखाप पारेको वडा अध्यक्ष फुनिसिंह बोहराले बताए । उनले भने ‘जंगली बँदेलले बालीनाली नष्ट गरेपछि किसानहरु समस्यामा परेका छन् । किसानहरुलाई क्षतिपूर्ती समेत दिन सकिएको छैैन् ।तर पनि यसका लागि पहल गरिरहेका छौं ।’

रातीको समयमा आउने जंगली बँदेलले पाक्नै लागेको गहुँबाली सखाप पारेपछि किसानहरु चिन्तामा परेका पाटन नगरपालिका ५ का देवसिंह ठगुन्नाले बताए । उनले भने ‘रातीको समयमा पहरा दिँदा समेत बालीनाली जोगाउन सकिएको छैन् । गाउँमा भोकमरीको अवस्था सिर्जना हुने देखिएको छ ।’

Atrya hospital

लगातार जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि किसानहरुले क्षतिपूर्तीको माग गरेका छन् । तर उनीहरुले अहिले सम्म क्षतिपूर्ती भने पाउन सकेका छैनन् । 

जिल्लाको मेलौली नगरपालिका ३ कपड्तमा पनि जंगली बँदेलले गहुँबाली र तरकारीबाली सखाप पारेको स्थानीय लोकबहादुर चन्दले बताए । उनले भने ‘पहिला जंगली बँदेलले बर्खेबालीमा मात्रै क्षति पुर्याउँथ्यो । अहिले हिउँदेबालीमा समेत असर पारेकाले निकै समस्या भएको छ ।अब खेतमा बाली लगाउनै नसकिने अवस्था आएको छ ।’

मानवीय क्रियाकलापका कारण जंगली जनावरहरुको बासस्थान नष्ट हुँदा जंगली जनावर मानवबस्तीमा पस्ने गरेका विज्ञहरुले बताएका छन् । जंगली जनावरको बासस्थान संरक्षणका लागि पहल चाल्न नसकेपछि जंगली जनावरहरुले अझै क्षति पुर्याउन सक्ने उनीहरुको भनाई छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  ००:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update