बैतडी –बैतडीको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले आफूलाई पहिलो निर्णय नै कार्यान्वयन गर्न नदिएको बताएका छन् । कार्यभार सम्हालेको पहिलो दिन गरिब, असाहय, अशक्त र समस्यामा परेका नागरिकलाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको भएपनि सो निर्णय कार्यान्वयन गर्न नदिएको उनले बताए ।
कार्यपालिकामा एमालेको बहुमत रहेको र कार्यपालिकाबाट निर्णय अनुमोदन गराउन खोज्दा सो निर्णय अनुमोदन नभएको उनले बताए । सगुन अनलाइन टीभीको चुनाव बिशेष कार्यक्रममा बोल्दै मेयर चन्दले जनताका लागि गरेको लोकप्रिय निर्णयलाई समेत कार्यान्वयन गर्न नदिँदा समस्या भएको बताए । उनले भने ‘नगरपालिकाका हरेक निर्णय कार्यपालिकाबाट पारित हुनुपर्छ । मैले आँफैले गरेको पहिलो निर्णय नै कार्यान्वयन दिइएन् ।’
यस्तै नगरपालिकाले आफ्नै डोजर किनेर सडक निर्माण गर्ने आफूले प्रस्ताव गरेको भएपनि सो प्रस्ताव पनि कार्यपालिकाबाट पास हुन नदिएको मेयर चन्दको गुनासो छ ।
आफ्नो पहिलो कार्यकालमा सोचे अनुसारको काम हुन नसकेको उनले बताए । उनले भने ‘संघीयताको पहिलो अभ्यासमा स्थानीय सरकारले सोचे अनुसार काम गर्न सकिएन् । कार्यपालिकामा कांग्रेसको बहुमत नहुँदा मलाई काम गर्न निकै अप्ठ्यारो भयो । लोकप्रिय निर्णयहरु समेत कार्यान्वयन गर्न दिइएन् ।’
यस्तै मेयर चन्दले आफूले गरेका निर्णय कार्यान्वय गर्न नदिने अवस्था सिर्जना भएपछि आफूलाई काम गर्ने जाँगर समेत नचलेको उनले बताए ।
पाटनमा मेयर तथा उपमेयर नेपाली कांग्रेसले जितेको थियो भने कार्यपालिकामा एमालेको बहुमत रहेको थियो ।