बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेद्वार छनौट कार्य जारी राखेको छ । बैतडीको पुर्चौंडी नगरपालिकामा मेयरका लागि महाधिवेशन प्रतिनिधि दीपकबहादुर बमलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको छ ।
कांग्रेस नगर सभापति गणेशबहादुर गडालको अध्यक्षतामा शुक्रबार बसेको नगरपालिका कार्यसमितिको बैठकले बमलाई मेयर पदका लागि उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय पारित गरेको हो । गत स्थानीय तहको निर्वाचनमा पनि बम मेयर पदमै उम्मेद्वार रहेका थिए । त्यो बेला उनी नेकपा माओवादी केन्द्रका रणबहादुर कुँवरसंग पराजित भएका थिए ।
नगरपालिका कार्यसमितिले सर्वसम्मत निर्णय गरेसंगै आफू चुनावी मैदानमा उत्रेको बमले बताए । उनले भने ‘गएको स्थानीय तहको निर्वाचनमा पनि मैले थोरै मतले हार व्यहोरेको हुँ । यो पाली जित्ने हिसाबले अगाडि बढेको छु ।’
यस्तै उपमेयर पदका लागि पुर्चौंडीमा कांग्रेसबाट चारजना आकांक्षी देखिएका छन् । करिश्मा भुल सार्की, पुनम पाल बम, मीना धानुक र बाग्मती ऐरले उपमेयर पदका लागि आकांक्षा देखाएका हुन् ।
पुर्चौंडी नगरपालिकाको हकमा कांग्रेसले कुनै पार्टीसंग चुनावी तालमेल नगर्ने महाधिवेशन प्रतिनिधि बमले बताए ।
यस्तै नगरपालिका सातओटा वडामा पनि वडा अध्यक्ष पदका उम्मेद्वार सर्वसम्मत चयन गरिसकेको नेपाली कांग्रेसको पुर्चौंडी नगरपालिका कार्यसमितिले जनाएको छ ।