बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र आमचोरामा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
महादेव कन्सट्रक्सनले करीब २ करोडको लागतमा गाउँपालिकाको १६ कोठे भवन निर्माण कार्य सम्पन्न गरेको हो । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ ।
यसैबीच नवनिर्मित गाउँपालिकाको प्रशासकीय भवनको आज एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द र उपाध्यक्ष बीना भट्टले संयुक्त रुपमा भवनको उद्दघाटन गरेका हुन् ।
भवन उद्दघाटन कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले भवन निर्माण आफ्नो कार्यकालको मुख्य उपलब्धिको रुपमा लिएको बताए । स्थानीय तहको निर्वाचन भएपछि गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या भईरहेकोमा अब त्यो समस्या समाधान भएको उनले बताए ।