बैतडी –नेकपा माओवादी केन्द्र बैतडीका सहइन्चार्ज एवं प्रदेश सांसद प्रेमप्रकाश भट्ट (आदित्य)ले माओवादीको पक्षमा जनमत रहेको दाबी गरेका छन् । सगुन अनलाइन टीभीको निर्वाचन बिशेष कार्यक्रममा बोल्दै सांसद भट्टले पहिलाको भन्दा माओवादीको पक्षमा जनलहर रहेको बताए । उनले भने ‘अहिले माओवादीको पक्षमा माओल छ । हामीले १० ओटै स्थानीय तहमा प्रशिक्षण चलायौं । त्यो प्रशिक्षणमा माओवादी पक्षमा लहर आएको पायौं ।’
उनले एमालेलाई परमादेशी पार्टी भएको आरोप समेत लगाए । नेकपाबाट अदालतले एमाले र माओवादी केन्द्र अलग पार्टी भनेर आदेश दिएकाले एमाले परमादेशी पार्टी भएको उनले बताए । उनले भने ‘सरकारलाई परमादेशी भन्नेहरुले आफूहरु पनि अदालतबाट स्थापित भएका हौं भन्ने कुरा बुझ्नुपर्छ ।’
अहिलेको व्यवस्थापको प्रर्वतक माओवादी भएकाले जनतासंग आफूहरुले मत मागिरहेको उनले बताए । माओवादीको नीतिमा देश चलेको र तर माओवादीको नेतृत्व नहुँदा समस्या भएकाले अब माओवादीलाई नेतृत्व दिनुपर्ने उनले बताए । उनले भने ‘जसको नीति छ,उसको नेतृत्व नहुँदा व्यवस्था धरापमा पर्ने अवस्था आएको छ । त्यसैले माओवादी केन्द्रलाई भोट दिन हामी आग्रह गरिरहेका छौं ।’
एक अर्को प्रसंगमा आसन्न स्थानीय तहको निर्वाचनमा सके सम्म सत्तागठबन्धन दलहरुबीच चुनावी तालमेल हुने भट्टले बताए । चुनावी तालमेल नभए माओवादी केन्द्र एक्लै पनि चुनाव लड्न सक्षम रहेको उनले बताए ।