बैतडी –नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका वडा तहमा उम्मेद्वार छनौट गर्ने कार्यलाई तीव्रता दिएको छ । जिल्लाका विभिन्न स्थानीय तहका वडाहरुमा सर्वसम्मत उम्मेद्वार छनौट गर्ने कार्य जारी रहेको कांग्रेस बैतडीले जनाएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ७ मा चक्रप्रसाद शर्मालाई वडा अध्यक्षको उम्मेद्वार बनाउने कांग्रेसले निर्णय गरेको छ । वडा कार्यसमितिको बैठकले शर्मालाई उम्मेद्वार बनाउने निर्णय सर्वसम्मत पारित गरेको हो ।
गएको स्थानीय तहको निर्वाचनमा पनि शर्मा सोही वडाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै खुला सदस्यमा तारादत्त बडु र भानदेव बडु, महिला सदस्य रेवती पाण्डेय बडु र दलित महिला सदस्यमा रमा लुहारलाई उम्मेद्वार बनाउने निर्णय भएको वडा अध्यक्ष शर्माले बताए ।
यस्तै पाटन नगरपालिका वडा नं ८ मा रमेश महरालाई वडा अध्यक्षको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको छ । पार्टीको वडा कार्यसमितिको बैठकले महरालाई वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय भएको वडा सभापति मोहनसिंह बिष्टले बताए ।
महरा नेपाली कांग्रेस पाटन नगर कार्यसमितिका उपसभापति समेत रहेका छन् । गएको स्थानीय तहको निर्वाचनमा पनि पाटन नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका पृथ्वीराज पन्तले जितेका थिए । पार्टीले निर्णय गरेपछि आफू चुनावी मैदानमा उत्रेको महराले बताए ।