बैतडी – स्थानीय तहको निर्वाचन नजिक आएका बेला राजनीतिक दलहरु उम्मेद्वार छान्न थालेका छन् । बैतडीमा सत्ता गठबन्धनका दलहरु एक्ला एक्लै उम्मेद्वार घोषणा गर्न थालेका हुन् । सत्तागठबन्धन दलहरुले चुनावी तालमेल गर्ने निर्णय गरेको भएपनि बैतडीमा भने कांग्रेस र माओवादीले उम्मेद्वारहरुको घोषणा गर्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रले बैतडीको पुर्चौंडी नगरपालिकाको मेयरमा विक्रम कुँवर (प्रतीक)लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, प्रदेश कमिटि उपाध्यक्ष रणबहादुर कुँवर लगायतका नेताहरुको उपस्थितीमा विक्रम कुँवरलाई मेयर पदको उम्मेद्वार घोषणा गरेको माओवादी केन्द्र प्रदेश कमिटि सदस्य कृष्णप्रसाद बडु(भाष्कर)ले बताए ।
गएको स्थानीय तहको निर्वाचनमा पनि पुर्चौंडी नगरपालिकामा माओवादी केन्द्रले नै जितेको थियो । माओवादी पुर्चौंडीलाई आफ्नो जनाधार भएको क्षेत्र मान्दै आएको छ । सत्ता गठबन्धन भित्र चुनावी तालमेल भएपनि पुर्चौंडीमा मेयर पद नछाड्ने हिसाबले उम्मेद्वारी घोषणा गरिएको बडुले बताए ।
मेयर पदमा अघि सारिएका कुँवर माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज र प्रदेश कमिटि सदस्य हुन् । पार्टीले मेयर पदको उम्मेद्वार घोषणापछि चुनावी अभियान तीव्र गतिमा अघि बढाइएको माओवादी केन्द्र पुर्चौंडीले जनाएको छ ।