बैतडी –सुख्खायामसंगै बैतडीको पाटनमा खानेपानीको हाहाकार हुन थालेको छ । पाटन बजार क्षेत्र र आसपासका गाउँमा खानेपानीको समस्या भएको स्थानीय कमल बोहराले बताए । उनले भने ‘पाटनमा फागुनदेखि असार सम्म साह्रै समस्या हुने गरेको छ । पानीको जोहो गर्न निकै मुस्किल हुने गरेको छ ।’
पाटनमा डेरा गरेर बस्ने विद्यार्थी, व्यवसाय गर्ने व्यापारी र कर्मचारीहरुले पानीको अभाव झेलीरहेका छन् भने होटेल व्यवसायीहरुलाई निकै समस्या हुने गरेको छ । पानीको समस्या भएपछि अहिले सुर्नया नदीबाट ट्यांकरमा पानी बोक्नुपर्ने बाध्यता रही आएको होटेल व्यवसायी डम्मरसिंह महराले बताए । उनले भने ‘पानीकै कारण व्यवसाय धरापमा पर्ने अवस्था आएको छ । घरभाडा भन्दा पानीको किन्न बढी पैसा खर्च गर्नुपरीरहेको छ ।’
देशकै १० औं नमूना शहरको रुपमा विकसित गर्ने भनिएको पाटनमा सुख्खायाममा जहिले पनि पानीकै अभाव हुने गरेको छ । पाटनमा खानेपानीको समस्या समाधानका लागि पाटन शहर बृहत खानेपानी योजना निर्माण भईरहेको भएपनि सम्पन्न भने हुन सकेको छैन् ।
२०७७ असार मसान्तमा सक्ने लक्ष्यका साथ २०७५ सालमा खानेपानी योजनाको निर्माण कार्य शुरु भएको थियो । तर लक्ष्य भन्दा २ बर्ष बढी हुन लाग्दा समेत खानेपानी योजना सम्पन्न हुन सकेको छैन् ।
सुर्नया नदीको पानी पाटनमा ल्याउन उद्देश्यका साथ शुरु भएको योजना शुरुवाती चरणमै विवाद हुँदा सम्पन्न हुन ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । अहिले भने आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भईसकेको खानेपानी योजना हेरीरहेका इन्जिनियर पवन भट्टले बताए । उनले भने ‘हामीले चालु आर्थिक बर्षभित्रै पाटन बजारमा पानी पुर्याउने उद्देश्यका साथ काम गरिरहेका छौं । आउँदो असार सम्म खानेपानी योजना सम्पन्न हुने कुरामा आसावादी छौं ।’
इन्जिनियर भट्टका अनुसार खानेपानी योजनाको पाइपलाइनको काम मात्रै बाँकी रहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत गरी करीब १४ करोडको लागतमा खानेपानी योजनाको काम भईरहेको हो ।