बैतडी –बैतडीका १२९ मतदानस्थल मध्ये ३१ ओटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । स्थानीय प्रशासनले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशीलको सूचीमा रहेका उनले बताए ।
आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण कार्य शुरु गरेको छ । स्थानीय तहमा रहेका मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भईरहेको सूचना अधिकारी भारतीले बताए । सुरक्षा निकाय र स्थानीय प्रशासनबीच छलफल गरेर सुरक्षा योजनालाई अन्तिम रुप दिइने बताइएको छ ।
विगतको निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयहरूलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको सूचना अधिकारी भारतीले बताए । उनले भने ‘हामीले मतदानस्थलको संवेदनशीलता हेरेर सुरक्षा योजना बनाईरहेका छौं । त्यही अनुसार सुरक्षा निकाय परिचालन हुनेछन् ।’
मतदान केन्द्र , मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको सूचना अधिकारी भारतीले बताए । सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको काम समेत भईरहेको उनले दाबी गरे ।
१० ओटा स्थानीय तह रहेको बैतडीमा २ सय ५ ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा १ लाख ४८ हजार ६ सय ६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।