बैतडी –बैतडीमा यही चैत २५ गतेबाट शुरु हुने टाइफाइड विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । स्वास्थ्य कार्यालयले खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरुसंग अन्तरक्रिया गरेर खोप अभियानको बारेमा जानकारी गराएको हो ।
नेपाल सरकारले देशैभरी टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएकाले बैतडीमा पनि यो अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । १५ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिइने उनले बताए ।
खोप अभियानमा ६२० स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वयंसेवक खटाउने तयारी भएको छ । यस्तै जिल्लामा ५ सय ८६ खोपकेन्द्रबाट खोप दिइने स्वास्थ्य प्रमुख भट्टले बताए ।
टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप पहिलो पटक दिन लागिएको हो । यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
बैतडीका ८ ओटा स्थानीय तहमा चैत २५ देखि २९ गतेसम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले बताए । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका,सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका,दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा चैत २५ देखि २९ गते सम्म खोप अभियान सञ्चालन हुने जोशीले बताए ।
यस्तै सुर्नया गाउँपालिकामा आगामी वैशाख २ गतेदेखि ६ गते सम्म र मेलौली नगरपालिकामा आगामी वैशाख ४ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले खोप अभियानलाई प्रभावकारी बनाउन सबैले आ आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए । यस्तै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।