बैतडी –आसन्न स्थानीय तहको निर्वाचन नजिक आईरहेका बेला राजनीतिक दलहरुले उम्मेद्वार घोषणा गर्न थालेका छन् । बैतडीको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले मेयर पदमा उम्मेद्वारी घोषणा गरिसकेको भएपनि एमालेले भने अझै उम्मेद्वारको टुंगो लगाउन सकेको छैन् ।
स्थानीय तहको निर्वाचनमा समेत चुनावी तालमेल गर्ने निर्णय भएपनि पुर्चौंडीमा माओवादी र कांग्रेस दुवैले मेयर पदमा उम्मेद्वार घोषणा गरेका छन् । कांग्रेसले महाधिवेशन प्रतिनिधि दीपकबहादुर बमलाई मेयर पदमा उम्मेद्वार बनाएको छ भने माओवादी केन्द्रले जिल्ला सहइन्चार्ज एवं प्रदेश कमिटि सदस्य विक्रम कुँवर (प्रतीक)लाई उम्मेद्वार घोषणा गरेको छ ।
चुनावी तालमेल भएपनि पुर्चौंडीमा मेयरको दाबी नछाड्ने दुवै पार्टीले जनाएका छन् । पुर्चौंडीमा पहिला पनि माओवादी केन्द्रले जितेकाले आफूहरुको दाबी स्वाभाविक रहेको माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य कृष्णप्रसाद बडुले बताए ।
यता नेपाली कांग्रेसले भने पुर्चौंडीमा चुनावी तालमेल नगर्ने बताएको छ । पुर्चौंडीमा पार्टीको संगठन बलियो रहेकाले एक्लै चुनाव लड्ने कांग्रेसबाट मेयर पदका उम्मेद्वार दीपकबहादुर बमले बताए ।
नेकपा एमालेले भने पुर्चौंडीमा अझै उम्मेद्वारको टुंगो लगाउन सकेको छैन् । चैत २५ गतेभित्र सर्वसम्मत रुपमा उम्मेद्वारको टुंगो लगाउने एमाले प्रदेश कमिटि सदस्य कर्णबहादुर कुँवरले बताए । वडा अध्यक्षका उम्मेद्वारहरुको लगभग टुंगो लागिसकेको उनले बताए ।
पुर्चौंडीमा एमालेबाट मेयर पदका लागि कर्णबहादुर कुँवर र जानकी ऐर बम आकांक्षी रहेका बताइएको छ ।