बैतडी –जिल्ला कृषि गणना कार्यालय बैतडीले सचेतना गोष्ठी सम्पन्न गरेको छ । कृषि गणना २०७८ लाई प्रभावकारी बनाउन सरोकारवालाहरुको उपस्थितिमा जिल्लास्तरीय सचेतना गोष्ठी सम्पन्न गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न सचेतना गोष्ठी कार्यक्रममा कृषि गणना अधिकृत सुरेन्द्र प्रशाद पन्तले कृषि गणनाको महत्व,आवश्यकता र कानुनी प्रावधान लगायतका गणना सम्बन्धि विषयमा जानकारी गराएका थिए ।
आम जनमानसमा कृषि गणना सम्बन्धी सूचना प्रवाह गर्न सहयोग मिलोस भनेर सचेतना गोष्ठीको आयोजना गरिएको अधिकृत पन्तले बताए । कृषि क्षेत्रको दिगो विकासका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्न सघाउ पु¥याउन, कृषि बनोट सम्बन्धी तथ्याङक संकलन गर्न कृषि गणनाको मुख्य उदेश्य रहेको जनाउदै कृषि गणना अधिकृत पन्तले गणना सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले कृषि क्षेत्रको वास्तविक अवस्था पहिचानका लागि कृषि गणना महत्वपूर्ण भएकाले यसलाइ सफल पार्न आ आफ्नो तर्फबाट भुमिका निर्वाह गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा जिल्ला भित्र रहेका कार्यालयका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
बैशाख ६ गते देखि बैतडीमा पनि कृषि गणना हुँदैछ । कृषि गणनाका लागि ११ जना सुपरीवेक्षक र ५० जना गणक छनोट भइसककेका छन् । जिल्लाका ८४ ओटै वडाका १ सय ४४ स्थानमा कृषि गणना गर्न सुपरीवेक्षक र गणक खटाइने बताइएको छ । छनोट भएका गणक तथा सुपरीवेक्षकलाई यही चैत २५ गतेबाट तालिम दिइने छ । जेठ १९ गते सम्म सञ्चालन हुने गणनामा गणकहरुले नमूना क्षेत्रमा गएर कृषकहरुको अवस्था, उपयोग र उपभोग गरेको जमीन, जमीनको आकार, खेतीको अवस्था, पशुपालनको अवस्था लगायतका बारेमा जानकारी लिने बताइएको छ ।
गणक तथ्याङक संकलनका लागि घरघरमा आउने भएकाले सत्य तथ्य विवरण टिपाएर सहयोग गर्न कृषि गणना कार्यालय बैतडीले जिल्लावासीलाइ अपिल समेत गरेको छ ।