बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा एक जना स्थानीयले स्वास्थ्य इकाइ भवनका लागि जग्गादान गरेका छन् । गाउँपालिकाको वडा नं ३ बाँस टोलमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माणका लागि स्वर्गाीय कैले विष्टका छोरा रामसिँह विष्टले सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माणका लागि निशुल्क ५ रोपनी जग्गादान गरेका वासुलिंग स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर बिष्टले जानकारी दिए ।
स्वास्थ्य संस्थाको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा लिन सजिलो होस भनेर आफ्नो नाममा भएको ५ रोपनी जग्गा दान गरेको जग्गादाता बिष्टले बताए । सो क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माणका लागि समस्या परेका बेला उनले आफ्नो नाममा भएको निजी जमिन दान गरेका हुन् ।
जग्गा उपलब्ध भइसकेको भन्दै स्वास्थ्य इन्चार्ज विष्टले भवन निर्माणका लागि पनि प्रदेश सांसद प्रेमप्रकाश भट्ट आदित्यबाट बजेटको आश्वासन मिलेकाले चाँडै भवन निर्माण हुने बताए ।
स्वास्थ्यचौकी भन्दा टाढा रहेका नागरिकहरुलाई सामुदायिक स्वास्थ्य इकाइ भवन बनेमा आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने बताइएको छ ।