बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेद्वार छान्न थालेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले देवराज जोशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
पार्टीको गाउँपालिका कार्यसमितिले सर्वसम्मत रुपमा जोशीलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको नेपाली कांग्रेस दोगडाकेदारका सभापति नन्दराज भट्टले बताए । पार्टीभित्र व्यापक छलफल र बहसपछि जोशीलाई उम्मेद्वार बनाउने निर्णय भएको उनले बताए ।
जोशी नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका सचिव समेत हुन् । नेपाली कांग्रेसको राजनीतिमा लागेका जोशीले दोगडाकेदारको समग्र विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताए । उनले भने ‘दोगडाकेदार नेपाली कांग्रेसको उर्वर भूमी हो । त्यो साख फर्काउनका लागि मलाई पार्टीले उम्मेद्वार बनाएको छ ।त्यो प्रयासमा म लाग्नेछु ।’
दोगडाकेदारमा सत्तागठबन्धन दलहरुले चुनावी तालमेल गर्ने भनेपनि टुंगो भने लागि सकेको छैन् । तत्कालका लागि कांग्रेसले पनि अध्यक्ष पदको उम्मेद्वार चयन गरेको र बाँकी उम्मेद्वारका बिषयमा सत्ता साझेदार दलहरुसंग छलफल भईरहेको बताइएको छ ।